दफा ११
शर्त उल्लंघन गरेमा संस्थाको अधिकार
(१) कुनै ऋणीले संस्थासँग गरेको सम्झौता वा शर्त पालन नगरेमा वा लिखतको भाखाभित्र संस्थाको लघुकर्जा चुक्ता नगरेमा वा संस्थाले जाँचबुझ गर्दा लघुकर्जा लिएको रकम दुरूपयोग गरेको वा हिनामिना गरेको देखिएमा प्रचलित कानूनमा जुनसकै कुरा लेखिएको भए तापनि ऋणीले संस्थालाई लेखिदिएको वा संस्थामा राखेको सुरक्षणलाई प्रचलित कानून बमोजिम लिलाम बिक्री गरी साँवा ब्याज असूलउपर गर्न सक्नेछ ।
(२) ऋणीले संस्थामा राखेको सुरक्षण कुनै किसिमले अन्य व्यक्तिलाई हक छाडी दिएमा वा कुनै कारणबाट संस्थामा राखेको सुरक्षणको मूल्य घट्न गएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संस्थाले तोकिदिएको म्यादभित्र ऋणीबाट सो बापत कर्जा खाम्ने गरी थप सुरक्षण राख्न लगाउन सक्नेछ । संस्थाले तोकेको म्यादभित्र ऋणीले त्यस्तो सुरक्षण राख्न नसकेमा संस्थाले आफ्नो साँवा ब्याज सुरक्षण राखेको सम्पत्तिबाट लिलाम बिक्री गरी असूलउपर गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम संस्थाले लिलाम बिक्री गरी असूलउपर गर्दा त्यस्तो सुरक्षणबाट संस्थाको साँवा ब्याजको पूरा रकम असूलउपर हन नसकेमा समूहको कुनै सदस्यले व्यक्तिगत लघुकर्जा लिएकोमा सो सदस्यको र सामूहिक रूपमा लघुकर्जा लिएकोमा त्यस्तो समूहको सदस्यको अरू जायजेथाबाट संस्थाले लिलाम बिक्री गरी असूलउपर गर्न सक्नेछ ।
(४) यस दफा बमोजिम लिलाम बिक्री गरी असूलउपर गरी आएको रकममध्ये सम्पत्ति लिलाम बिक्री गर्दा भएको खर्चको रकम र संस्थाको साँवा ब्याजको रकम कट्टा गरी बाँकी रहन आएको रकम सम्बन्धित ड्डव्यक्तिलाई फिर्ता दिनुपर्नेछ ।
(५) यस दफा बमोजिम संस्थाले लिलाम बिक्री गर्दा कसैले नसकारेमा तोकिए बमोजिम संस्थाले सो सम्पत्ति आफूले सकार गर्न सक्नेछ ।